Menu मंगलवार, कार्तिक ४ गते २०७७

कोविङ-१९ र नेपाल

कोविङ-१९ र नेपाल

Sobizpress SuAdmin

४, भाद्र २०७७
कोविङ-१९ र नेपाल

-दिनेश नेपाल
कोरोना र नेपालको राजनीतिक स्थिति लगभग एक स्वरुपको देखिन्छ । जसरी कोरोनाको वास्तविक जीवाणुको पूर्णतः डायग्नोसिस गर्न गर्न नसक्दा वास्तविक भ्याक्सिनको पहिचान गर्न सकिएको छैन, त्यसरी नै नेपालको राजनीतिक गन्तव्यको पूर्णतः डायग्नोसिस गर्न नसक्दा मुलुकले वास्तविक लडाइँ र प्रगति हासिल गर्न सकिने छैन भन्नु अतिरञ्जित नहोला । यसको मूल कारण मुलुकलाई राज्यसञ्चालकले सधैं ‘एड हक’ नीति, योजना र रणनीतिमाध्यम राज्य सञ्चालन गर्नु नै हो भन्ने तथ्य स्पष्टतः देखिन्छ ।


वास्तवमा वर्तमान समयमा जसरी संसारका सबै राष्ट्रहरू एकजुट हुँदै कोविङ–१९ विरुद्धको औषधि र खोप पत्ता लगाउन लागिपरिरहेका छन्, सोहीअनुरुप नेपालका सबै दलहरू एकजुट हुँदै कोविङ–१९ लगायत समृद्धिका वास्तविक भ्याक्सिन पत्ता लगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नु नै समयको माग हो ।

नेपालका शासकहरू मुलुकलाई कोरोना सङक्रमणबाट सुरक्षित राख्न न्यूजील्याण्ड, जापान राष्ट्रले अवलम्बन गरेका नीति, योजना र कार्यक्रमलाई पछ्याएमा पनि केही हदसम्म राष्ट्र सफल हुने देखिन्छ । यसको निम्ति राष्ट्रका राज्यसञ्चालकदेखि सर्वसाधारण नागरिकले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प देखिँदैन ।

अहिले संसारमा अत्याधिक रूपले लोकतान्त्रिक मुलुकमा प्रयोग भइरहेको पब्लिक–प्राइभेट पार्टनरसीपको अवधारणालाई अहिलेको परिप्रक्ष्यमा नेपालले वास्तविक रूपले अवलम्बन गरेमा मुलुकलाई कोरोना–सङ्क्रमणबाट क्रमशः मुक्त गर्न सफल हुने देखिन्छ ।

निःसन्देह पब्लिक–प्राइभेट पार्टनरसीपले राज्यसञ्चालक एवम् आमनागरिकलाई आफ्नो कर्तव्य र अधिकारको बोध हुन्छ भन्ने तथ्य संसारका विभिन्न राष्ट्रले दृष्टान्तस्वरुप देखाइसेका छन् । नेपालमा नागरिक सार्वभौमिसत्ता सम्पन्न भएपश्चात पनि सरकार र जनता बेग्लाबेग्लै पक्षमा प्रस्तुत हुनु दुवैमा विगतको इनरसिया कायम छ भन्ने तथ्यलाई पुष्ट्याइँ गर्दछ । राज्यसञ्चालकले आमजनतालाई र आमनागरिकले राज्यसञ्चालक गणतान्त्रित स्वभाव देखिँदैन भनी हिँडेबाट दुवैमा विगतको शासक र शासित प्रवृत्तिले दह्रो जरा गाडेको देखिन्छ । वास्तवमा जबसम्म प्रत्येक तह र तप्कामा यस प्रवृत्तिमा आमुल परिवर्तन आउँदैन तबसम्म राष्ट्रले प्रगतिपथको सही मार्ग पहिल्याउन सक्छ भन्ने देखिँदैन । जबसम्म राष्ट्रले सही मार्ग पहिल्याउन सक्दैन तबसम्म राष्ट्रमा देखापरेका विविध समस्यालाई सही पहिचान गर्न सकिँदैन । वास्तवमा कुनै पनि समस्याको समाधानको आधा हिस्सा यसको सही पहिचानमा नर्भर गर्दछ । यस तथ्यलाई चिकित्साशास्त्र र व्यवस्थापकीय विधिहरूले सावित गरिसकेका छन् । यस तथ्यलाई नेपालका राज्यसञ्चालकले वास्तविक ढङ्गले बुझ्नु नितान्त जसरी देखिन्छ । यस तथ्यलाई बुझ्न नसकेको तथ्य कोरोनाको सङ्क्रमणबाट बचाउन राष्ट्रमा अपनाएका क्रियाबाट छर्लङ्ग भइरहेको छ । वास्तवमा एउटै मोडालिटी संसारका प्रत्येक राष्ट्रमा उपयुक्त हुँदैन भन्ने कुरालाई नेपाल एवम् यसका सहयोगी पार्टनरले बुझ्नु नितान्त आवश्यक छ ।

नेपालीको एउटा अचम्मको स्वभाव छ, त्यो के हो भने आपतकालिन समस्या समाधान गर्न एकजुट हुने तर राष्ट्रनिर्माणको नीति, योजना, रणनीतिक, कार्यक्रम निर्माण गर्ने क्रममा विभाजित हुने ! यस प्रवृत्तिमा हामी सबैले गहिरो चिन्तन गर्नु जरुरी देखिन्छ ।

राष्ट्रलाई मूलमा राखेर क्रिया गर्नुपर्ने धर्मको उचित पालना नेपालका राज्य सञ्चालकहरूले प्रायशः नगरेकै देखिन्छ । वर्तमान समयमा राष्ट्रलाई कोरोना सङ्क्रमणबाट एकातिर जोगाउन सबै तह र तप्का लाग्नुपर्ने अर्कोतिर सीमा विवादको समाधानतर्फ लाग्नुपर्नेमा राज्यसञ्चालन गरिरहेको दल र प्रतिपक्षी दलभित्र गुट–उपगुट सिर्जना हुनु राष्ट्रको लागि किमार्थ शुभ लक्षण होइन । संसार नै कोरोनाबाट ग्रसित भइरहेको समयमा राष्ट्रलाई कसरी जोगाउने भन्नेतर्फ राष्ट्र लाग्दा राष्ट्रहितलाई प्रमुख भागमा राख्नुको विकल्प देखिँदैन । यसबाट राज्यसञ्चालकहरू अलि विमुख भइरहेको देखिन्छ, किनभने सरकार कहिले बोर्डर सिल गर्छ त कहिले आफ्नो देश फर्कनु नेपालीको मौलिक हक हो भन्दै बोर्डर खुल्ला राख्दछ । यसरी नै सङ्घीय राजधानीमा लकडाउन गर्दै विदेशमा रहेका सङ्क्रमित व्यक्तिलाई देश भित्र्याउनुलाई पनि राज्यको ढुलमुले नीति नै हो भन्नुपर्ने हुन्छ ।

लज्जास्पद कुरा त राष्ट्र समस्याको पूर्ण चक्रमा रहेको समयमा राज्यसञ्चालक र यसका दलहरू आ–आफ्नो पद बाँडफाँडमा लागेर रडाको मच्चाउनु पनि हो । पदीय भागबण्डा र शक्ति हत्याउनका लागि विभिन्न किसिमका फोस्रा बैठक बस्ने जो उपक्रम छ, यसले शासकहरूमा ‘रोगले त आम सर्वसाधारणलाई मात्र आक्रमण गर्दछ, हामीहरू त रोगप्रुफ नै छौँ नि’ भन्ने भावले गाँजेको सन्देश दिएको छ ।

सरकारले मुलुकमा लकडाउन, कफर््यू, सामाजिक दूरी जे विधि अपनाएर पनि राष्ट्रलाई जोगाउनु उसको मुख्य कार्य हो भन्ने तथ्य निर्विवाद छ । तर, यसो गर्दा राष्ट्रको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षको समुचित व्यवस्था मिलाएर गर्दा उपयुक्त हुन्छ । हचुवाको भरमा विभिन्न मोडालिटी घरी–घरी परिवर्तन गरिरहँदा राष्ट्र झन् अन्योलमा पर्दछ भन्ने कुरालाई मनन गर्नुपर्छ । यसो नगर्दा मोडालिटी असफल हुन गई जनता सडकमा उत्रिए भने राज्यसञ्चालक पूर्णतः असफल हुँदै देश नै असफल राष्ट्र घोषणा हुन बेर लाग्दैन । यसो भएमा संसारले कोरोना र नेपालको स्थिति एकै छ भनी व्यङ्ग्य नगर्ला भन्न पनि सकिँदैन । किनभने, दुवैको निराकरण गर्ने औषधि अहिले विश्वसामु छैन ।

नेपालीको एउटा अचम्मको स्वभाव छ, त्यो के हो भने आपतकालिन समस्या समाधान गर्न एकजुट हुने तर राष्ट्रनिर्माणको नीति, योजना, रणनीतिक, कार्यक्रम निर्माण गर्ने क्रममा विभाजित हुने ! यस प्रवृत्तिमा हामी सबैले गहिरो चिन्तन गर्नु जरुरी देखिन्छ । राष्ट्र निर्माणमा लागेका राष्ट्रसेवक कर्मचारीहरूमा अर्कालाई दोषारोपण गर्ने परिपाटीको अन्त्य हुनु पनि अति जरुरी छ । कतिपय राष्ट्रिय निकायमा कार्यसम्पादन गर्दा सबै तह र तप्कामा एकरुपता नभएको देखिन्छ । यसले राष्ट्रनिर्माणको गति सुस्त गरिदिन्छ र अन्ततः देश अन्य मुलुकको तुलनामा स्वतः पछाडि पर्दछ ।

कोरोना सङ्क्रमणबाट राष्ट्रलाई जोगाउन सर्वप्रथम राज्यसञ्चालकहरू ठोस नीतितर्फ लाग्ने र ब्युरोक्र्यासीले त्यसको प्रभावकारी कार्यान्वयनतर्फ लाग्नु नै उपयुक्त र आवश्यक देखिन्छ । वर्तमान समयको परिपे्रक्ष्यमा नीतिनिर्माताहरू ठोस नीति निर्माणतर्फ र सरकार एवम् ब्युरोक्र्यासी यसको सफल कार्यान्वयनतर्फ लाग्दै सबै तह र तप्कामा सटिक समन्वय भएमा मात्र मुलुक आर्थिक पक्षबाट सबल भई विविध समस्याको समाधान गर्न सफल हुन्छ । अहिले देशले आर्थिक पक्षलाई मात्र प्राथमिकता दिएमा मुलुक कोरोनाग्रसित हुने एकातिर भयावह परिवेश छ भने अर्कोतिर स्वास्थ्यलाई मात्र प्राथमिकता दिएमा राष्ट्र पूर्णरूपेण आर्थिक कोणबाट दुर्वल हुँदै अत्यन्त ब्याङ्क्रप्टको स्थितिमा पुग्न सक्छ । यसर्थ अहिलेको स्थितिमा राज्यसञ्चालकले स्टेट्सम्यानसीप देखाई मुलुकलाई सही मार्ग निर्देशन दिनु समयको माग हो ।

अहिले देशले आर्थिक पक्षलाई मात्र प्राथमिकता दिएमा मुलुक कोरोनाग्रसित हुने एकातिर भयावह परिवेश छ भने अर्कोतिर स्वास्थ्यलाई मात्र प्राथमिकता दिएमा राष्ट्र पूर्णरूपेण आर्थिक कोणबाट दुर्वल हुँदै अत्यन्त ब्याङ्क्रप्टको स्थितिमा पुग्न सक्छ । यसर्थ अहिलेको स्थितिमा राज्यसञ्चालकले स्टेट्सम्यानसीप देखाई मुलुकलाई सही मार्ग निर्देशन दिनु समयको माग हो ।

वास्तमा विषम परिस्थितिबाट नै शासकको सही पहिचान हुन्छ भन्ने तथ्य विगतका विषम परिस्थितिलाई चिर्दै राष्ट्रलाई बचाउन सफल भएका विश्वका राजनेताहरू विष्टन चर्चिल, रुजवेल्ट, चाणक्यले दृष्टान्त पेस गरिसकेका छन् ।

वास्तविकलाई पहिल्याउने हो भने अहिले विश्वका विभिन्न राष्ट्रहरू कि त स्वास्थ्यको दृष्टिकोणले ठीक छन् कि त आर्थिक पक्षले सवल छन् । उदाहरणको रूपमा संयुक्त राज्य अमेरिका र न्यूजील्याण्डलाई लिन सकिन्छ । संयुक्त राज्य अमेरिकाका राज्यसञ्चालकहरूले आर्थिक पक्षलाई प्राथमिकता दिएकै कारण आज कोरोना सङ्क्रमणमा पहिलो नम्बर बन्न परेको छ र सोही अनुरुप जापानले स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेको हुँदा अर्थतन्त्रमा सम्झौता गर्नु परेको छ । यसर्थ ठीक राज्यसञ्चालक त्यही हो जसले मुलुकलाई आवश्यक परेको समयमा सही मार्ग निर्देश गर्दछ ।

यसर्थ, मुलुकका राज्यसञ्चालक र नीति–निर्माताहरूले आफू र आफ्नो दललाई भन्दा राष्ट्रलाई केन्द्रबिन्दुमा राखी कार्य गर्ने समय आएको छ । यसरी नै आमनागरिकले पनि आत्मअनुशासित भई विश्वमा परिचित हुँदै राष्ट्रलाई विषम परिस्थितिबाट मुक्त गराएको सूचीमा राष्ट्रको नाम अङ्कित गराउन सके पक्का राष्ट्रप्रेमी कहलाइने देखिन्छ । निःसन्देह अहिले विश्व नै एकबद्ध भई कोविङ–१९ लाई परास्त गर्नेतर्फ लाग्नु नै विश्वलाई नष्ट हुनुबाट जोगाउने एक समयोचित उपाय हो ।

सारांशमा, प्रत्येक राष्ट्रका राज्यसञ्चालक वर्तमान समयमा सही नीति निर्माण गर्नेतर्फ लागी ब्युरोक्र्यासीलाई सही ड्राइव गरेर पब्लिक–प्राइभेट पार्टनरसीपलाई उपयुक्त ढङ्गले प्रयोग गर्दै विश्वलाई कोरोना फ्रि बनाउनेतर्फ लाग्नु नै विश्वलाई स्वच्छ र सवल स्थलको रूपमा आउँदो पुस्तालाई हस्तान्तरण गर्न सफल हुनु हो ।

प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १९:४६:१६ बजे

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology