Menu आइतवार, कार्तिक ९ गते २०७७

कोरोना संक्रमितको उपचारमा उपयोगी औषधिको यसरी हुँदैछ नेपालमा ‘क्लिनिकल ट्रायल’

कोरोना संक्रमितको उपचारमा उपयोगी औषधिको यसरी हुँदैछ नेपालमा ‘क्लिनिकल ट्रायल’

Sobizpress SuAdmin

२३, भाद्र २०७७
कोरोना संक्रमितको उपचारमा उपयोगी औषधिको यसरी हुँदैछ नेपालमा ‘क्लिनिकल ट्रायल’

काठमाडौं । अन्तर्राष्ट्रिय अनुसन्धानहरूले उपयोगी देखाएका विभिन्न औषधि नेपालमा कोरोना संक्रमितको उपचारमा आवश्यकता अनुसार प्रयोग भइरहेको छ भने कतिपयको प्रभाव हेर्न क्लिनिकल ट्रायल गरिंदैछ।

गएको २ सेप्टेम्बर (१७ भदौ) मा ‘द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’मा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले डेक्सामेथासोन, हाइड्रोकोर्टिसोन र मिथाइल प्रेड्निसोलोन औषधि कोरोनाभाइरस (कोभिड—१९) का गम्भीर बिरामीको जीवन बचाउन उपयोगी हुने निष्कर्ष निकाल्यो।

अनुसन्धानले कोरोनाका गम्भीर बिरामीमा स्टेरोइड समूहका यी तीन औषधि निकै उपयोगी हुन सक्ने देखाएको छ। ती औषधिको प्रयोगले सिकिस्त संक्रमितको मृत्यु हुने संभावना एक तिहाइले घटाउने दाबी पनि गरिएको छ। 

कोरोना संक्रमितको उपचारमा डेक्सामेथासोन औषधिले अहिलेसम्मकै सबैभन्दा राम्रो नतिजा निकालेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

अन्तर्राष्ट्रिय रुपमा गरिएको स्टेरोइड समूहका औषधिको क्लिनिकल ट्रायलको नतिजा सार्वजनिक भएसँगै विश्व स्वास्थ्य संगठनले उक्त समूहका औषधि प्रयोगको निर्देशिका पनि जारी गरिसकेको छ। डेक्सामेथासोन सबैजसो मुलुकमा सस्तो मूल्य र सहज रुपमा उपलब्ध हुने औषधिमा पर्छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली आफूहरुले पनि स्टेरोइड समूहका औषधिमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको बताउँछन्। 

निमोनिया, दम जस्ता श्वासप्रश्वास सम्बन्धी समस्यामा पनि स्टेरोइड समूहका औषधि प्रयोग भइरहेको र बिरामीको आपतकालीन उपचारमा यी औषधि नेपालमा पहिलेदेखि नै चलाइँदै आएको उनको भनाइ छ। 

“नेपालमा यी औषधि अनुसन्धान प्रयोजनका लागि प्रयोग भएको छैन, तर चिकित्सकहरुले कोरोना संक्रमितको उपचारका क्रममा आवश्यकता अनुसार चलाउने गरेका छन्”, डा. ज्ञवाली भन्छन्।

"हामीले पनि स्टेरोइड समूहका औषधिमाथि अनुसन्धान गर्ने तयारी गरिरहेका छौं। यो समूहका औषधिहरुको निमोनिया, दम जस्ता श्वासप्रश्वास सम्बन्धी समस्यामा पनि प्रयोग भइरहेको छ। बिरामीको आपतकालीन उपचारमा यी औषधि नेपालमा पहिलेदेखि नै चलाइँदै आएको हो।" - डा. प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् 
काठमाडौं टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला शरीरमा अक्सिजनको मात्रा कम भएका कोरोना संक्रमितलाई अन्तर्राष्ट्रिय अनुसन्धानले प्रमाणित गरेका डेक्सामेथासोन र स्टेरोइड समूह बाहिरका हेपारिन, रेमडिसिभिर जस्ता औषधि चलाइरहेको बताउँछन्। 

“संक्रमितको स्वास्थ्य स्थिति हेर्दा ती औषधि प्रयोग नहुने देखिए चाहिं चलाउँदैनौं”, उनी भन्छन्। 

उनका अनुसार, कोरोना संक्रमितलाई ती औषधि चलाउँदा चलाउँदै पनि निमोनिया देखियो भने प्लाज्मा दिएर उपचार गर्ने गरिएको छ। बिरामीमा थप संक्रमण फैलिए चिकित्सकहरुले एन्टीबायोटिक चलाउने गरेका छन्। 

 

डेक्सामेथासोन औषधि अक्सिजनको सहयोग चाहिने कोरोनाका सिकिस्त बिरामीको फोक्सो सुन्निने समस्या घटाउन चिकित्सकहरुले प्रयोग गर्दै आएका छन्। यसअघि डेक्सामेथासोनको प्रयोग श्वासप्रश्वास, मेनिन्जाइटिस, सेप्सिस लगायत रोगका बिरामीमा प्रयोग हुँदै आएको थियो।

यस्तै, हेपारिन कोरोनाका बिरामीलाई सानो रक्तनलीमा रगत जम्ने समस्या हुन नदिन प्रयोग गर्ने गरिएको छ। रक्तनलीमा रगत जम्ने समस्याका कारण पक्षघात समेत हुन सक्छ। यो औषधि चिकित्सकहरूले विगतमा पनि भाइरल संक्रमण भएका बिरामीको उपचारमा प्रयोग गर्दै आएका थिए।

अहिलेसम्म मुलुकमा कोरोना संक्रमितको उपचारमा अनुसन्धान प्रयोजनका लागि प्रयोग भइरहेको रेमडिसिभिर एक मात्र औषधि हो। यस बाहेक स्टेरोइड र एन्टीबायोटिक औषधि चिकित्सकहरुले अन्तर्राष्ट्रिय अनुसन्धान र कोरोना संक्रमितको उपचार गर्नेसम्बन्धी निर्देशिका अनुसार बिरामीमा प्रयोग गर्दै आएका छन्। 
रेमडिसिभिर औषधिले भने शरीरमा हुने कोरोनाभाइरसको वृद्धिविकास रोक्न सघाउँछ। 

अहिले यो औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नियमनमा रहने गरी विभिन्न अस्पतालबाट अनुसन्धान प्रयोजनका लागि मात्र प्रयोग भइरहेको छ। 

अहिलेसम्म मुलुकमा कोरोना संक्रमितको उपचारमा अनुसन्धान प्रयोजनका लागि प्रयोग भइरहेको रेमडिसिभिर एक मात्र औषधि हो। 

यस बाहेक स्टेरोइड र एन्टीबायोटिक औषधि चिकित्सकहरुले अन्तर्राष्ट्रिय अनुसन्धान र कोरोना संक्रमितको उपचार गर्नेसम्बन्धी निर्देशिका अनुसार बिरामीमा प्रयोग गर्दै आएका छन्। 

शुक्रराज अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बास्तोला अन्तर्राष्ट्रिय अध्ययनले उपयोगी देखाएका स्टेरोइड समूहका डेक्सामेथासोनका साथै हाइड्रोकोर्टिसोन र मिथाइल प्रेड्निसोलोन पनि आफूहरूले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिरहेको बताउँछन्। 

“तर अक्सिजन नचाहिने संक्रमितलाई यी औषधि प्रयोग गर्न आवश्यक छैन”, उनी भन्छन्। 

नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहाल डेक्सामेथासन लगायत स्टेरोइड समूहका औषधि नेपाली बजारमा पर्याप्त उपलब्ध रहेको बताउँछन्। 

यो औषधि वीरगञ्जस्थित नेशनल हेल्थ केयरले उत्पादन गर्दै आएको छ। साथै, भारतबाट पनि आयात भइरहेको छ। 

दाहालका अनुसार, हेपारिन औषधि पनि बजारमा पर्याप्त उपलब्ध छ। यो औषधि भने नेपालमा उत्पादन नहुने भएकाले भारतबाट आयात हुन्छ। “हेपारिन चीनबाट ल्याउन सकेमा ३० देखि ४० प्रतिशत सस्तो पर्छ, तर यसतर्फ औषधि व्यवस्था विभागले ध्यान दिएको छैन”, उनी भन्छन्।

क्लिनिकल ट्रायलको तयारी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली इन्फ्लुएन्जाका बिरामीमा प्रयोग गरिंदै आएको फाभिरपिराभिर जस्ता औषधिको नेपालमै क्लिनिकल ट्रायल शुरु गर्ने योजना बनाएको बताउँछन्। यो मुखबाट दिइने एन्टीभाइरल औषधि हो। 

फाभिरपिराभिर अहिलेसम्म नेपालमा दर्ता भएको छैन। परिषद्ले यो औषधिको नेपालमै क्लिनिकल ट्रायलका लागि औषधि व्यवस्था विभागमा प्रस्ताव पेश गरेको छ। क्लिनिकल ट्रायलका लागि विभागले करीब एक महीनाअघि स्वदेशी कम्पनीलाई नै उक्त औषधिको उत्पादन अनुमति दिइसकेको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एलोपेथिक मात्र नभएर आयुर्वेदिक औषधिमाथिको क्लिनिकल ट्रायल पनि शुरु गर्दैछ। 

आयुर्वेदिक औषधि 'यास्टी'को बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एक/दुई दिनभित्रै सय जना बिरामीमा क्लिनिकल ट्रायल शुरु गरिने अन्तिम तयारी भएको परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवाली बताउँछन्। 
विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले हिमालखबरसँग कुरा गर्दै देउराली जनता प्रालिलाई उत्पादन गर्न अनुमति दिइएको बताए। 

उनका अनुसार, कम्पनीलाई उक्त औषधि के कसरी बजारमा बिक्री–वितरण गर्न दिने भनेर विभाग छलफलमै छ। “परिषद्लाई कुन मोडलमा फाभिरपिराभिरको अनुसन्धान गर्न दिने भनेर पनि टुङ्गोमा पुगिसकेका छैनौं”, उनी भन्छन्। 

केसीका अनुसार, फाभिरपिराभिर कोरोनाका सिकिस्त बिरामीलाई दिइने नभई कोरोना लागेर लक्षण देखिएका बिरामीलाई मात्र प्रयोग गरिन्छ। 

यो सन् २०१४ देखि जापानबाट भाइरल इन्फ्लुएन्जाका बिरामीलाई प्रयोग गर्न थालिएको औषधि हो। 

परिषद्ले एलोपेथिक मात्र नभएर आयुर्वेदिक औषधिमाथिको क्लिनिकल ट्रायल पनि शुरु गर्दैछ। आयुर्वेदिक औषधि 'यास्टी'को बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एक/दुई दिनभित्रै सय जना बिरामीमा क्लिनिकल ट्रायल शुरु गरिने अन्तिम तयारी भएको परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवाली बताउँछन्।

 

 

प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १७:२६:४२ बजे

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

Copyright © All right reserved toOnline Dainik Site By: SobizTrend Technology